‘ए मेरो हजुर ४’ हेर्न जब एक साथ सिनेमा हल पुगे राजेश, शिव र भुवन

काठमाडौं । नेपाल चलचित्र क्षेत्रका तीन पुराना हस्ति शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालको आपसी सम्बन्धलाई लिएर मिडियामा बारम्बार चर्चा हुने गर्छ । केही समयअघिको महानायक काण्डमा खासगरी भुवन–शिव एकातिर र राजेश अर्कोतिर देखिएका थिए ।

आ–आफ्नो कालखण्डमा नेपाली चलचित्रलाई काँधमा बोकेका यी तीन अभिनेता हिजो एकसाथ सिनेमा हलमा देखापरे । नेपाली चलचित्रको उत्थानमा चलचित्रकर्मीहरुबीच नै एकता हुन नसकिरहेको टिप्पणीकाबीच उनीहरु ‘ए मेरो हजुर ४’ हेर्न एकसाथ सिनेमा हल पुगेका हुन् । भुवनका पुत्र अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्मलाई सबैले एकसाथ सह्राहना पनि गरे ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिव श्रेष्ठले अहिलेसम्म कुनै पनि फिल्म हेरेर यति नरोएको प्रतिक्रिया दिए ।

उनले भने, ‘यो चलचित्रले मेरो मुटुमा छोयो । अब नेपाली चलचित्रलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन । यति ठूलो बजेटको हिन्दी चलचित्रसँग पनि लडेर ए मेरो हजुरले हासिल गरेको सफलता चानचुने होइन ।’

हमालले पनि आफूलाई फिल्म मन परेको बताए । फिल्म हेर्दा इन्जोइ गरेको भन्दै उनले प्रस्तुती र निर्देशनको प्रशंसा गरे । सबै पक्षबाट राम्रो चलचित्र बनेको छ, दर्शकले साथ दिनुहुनेछ,’ उनले भने ।

तीन अभिनेताबीच ख्यालठट्टा पनि चलेको थियो । भुवनले शिव श्रेष्ठको छोराको फिल्म आफूले हेरेको र शिवले आफ्नो छोराको फिल्म हेरेको भन्दै अब राजेशको छोराको फिल्म हेर्ने चाहना लागेको बताए ।

राजेशले पुरानै ठट्टा दोहो¥याए, ‘म त अहिले बच्चै छु, बच्चाको बच्चा हुन टाइम लाग्छ नि ।’

शिवले पनि ठट्टा गर्दै भने, ‘हामी यसमा राजेशलाई पूरा साथ दिनेछौं ।’

राजेशले जवाफ दिए, ‘होइन, मलाई यसमा सहयोग चाहिँदैन । म आफ्नै मिहिनेतले जन्माउँछु ।’

शिवले भने, ‘तपाईंको छोरालाई फिल्म खेलाउन साथ दिने भनेका हौं ।’

निर्देशक झरना थापाले सिंगो फिल्म इन्डष्ट्री आफ्नो साथमा रहेको महसुस भएको प्रतिक्रिया दिइन् । ‘सबैको साथ सहयोग र आशिर्वादका लागि एकदमै आभारी छु,’ उनले भनिन् ।

अनमोलले पनि यो क्षण आफ्नो लागि निकै महत्वपूर्ण भएको बताए ।

८,बैशाख.२०७९,बिहीबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्