एमालेले प्रदेश सांसदलाई स्थानीय तहको उम्मेदवार नबनाउने, सुवेदीलाई भने यो नियम नहुने लागू
वि.सं.२०७९ वैशाख ८ बिहीवार १८:१५
shares

काठमाडौं । नेकपा एमालेले प्रदेशसभा सदस्यहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो । ‘यसबारे धेरै कुरा भएन । प्रदेश सांसदलाई उम्मेद्वार नबनाउने भन्ने भयो’, एक नेताले भने ।
एमालेको यो निर्णयपछि पोखरा महानगरपालिकाको मेयरमा दावी गरेका कृष्ण थापा र राजीव पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । महानगरको मेयरका लागि थापा र पहारीसहित १२ जनाको नाम सिफारिस भएको छ ।
पोखरासहित ६ महानगर र ११ उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको नाम सचिवालय बैठकमा प्रस्तुत भएको छ । सिफारिस भएका नाम प्रस्तुत गर्ने क्रममै प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने सहमति जुटेको ती नेताले बताए ।तर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका विजय सुवेदीबारे भने यो निर्णय लागू हुनेछैनन् । सुवेदी महानगरको उम्मेदवार बन्ने भएपछि बिहीबार नै वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
‘त्यहाँ फरक परिस्थिति हो । त्यसैले सिफारिस भएकै उम्मेदवार कायम रहन्छन्’, बैठकमा सहभागी एक नेताले भने । सुवेदीलाई मेयर बनाउन महानगर कमिटीको सर्वसम्मतले सिफारिस गरेको थियो ।

























