जनकपुरको मेयरका लागि एमाले प्रवेश गरेका साह बागी उम्मेदवारीको तयारीमा

जनकपुरधाम । टिकटको लोभमा जनकपुरधाम– ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर केही समयअघि नेकपा एमालेमा प्रवेश गरे । दलबलसहित काठमाडौं पुगेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थापे ।

ओलीबाट मेयरको टिकटको आश्वासन पाएपछि उनले अध्यक्ष ओली, नेता रघुवीर महासेठ, उनकी पत्नी एवम् नेतृ जुली महतोको फोटो सामाजिक सञ्जालमा राखेर मेयरको प्रत्यासीका रुपमा प्रचार गरे । तर एमाले जनकपुरले मेयरको टिकट शिवशंकर साह ‘हिरा’लाई दिने निर्णय गर्यो । त्यसपछि उनले आफ्ना सबै पुराना पोस्टहरु डिलेट गरेका छन् ।

मेयरमा उठ्न सम्पर्क कार्यालय खोलिसकेका र घरदैलोसमेत सुरु गरिसकेकाले उनी ब्याक नहुने बताउँछन् । ‘अगाडि बढिसेकाका छौं’, उनले भने, ‘तर एमालेले पनि टिकट नदिएपछि साथीहरुसंग छलफल गरिरहेका छौं । केहिबेरमै बैठक बसेर आवश्यक निर्णय लिन्छु ।’ स्वतन्त्रबाटै भएपनि मेयरमा उम्मेदवारी दिने उनले संकेत गरे ।

साह तत्कालीन राजपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले वडाध्यक्षबाट राजीनामा समेत दिइसकेका छन् । अहिलेको लोसपा (तत्कालीन राजपा)बाट टिकट पाउने अवस्था नदेखेपछि उनी एमालेमा प्रवेश गरेका थिए ।

लोसपाले मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई टिकट दिएको छ । मिश्र तत्कालीन राजपाबाट गत निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । राजपाबाटै गत निर्वाचनमा मेयरमा निर्वाचित लालकिशोर साह योपटक उपेन्द्र यादव नेतृत्वको जसपाबाट सत्ता गठबन्धनको मेयर उम्मेदवार बनेका छन् ।

यता, सत्ता गठबन्धनले गरेको भागबन्डामा जनकपुरधामको उपमेयर कांग्रेसले पाएको छ । तर कांग्रेसले अहिलेसम्म उपमेयर उम्मेदवार टुंगो लगाउन सकेका छैन । कांग्रेसबाट मेयर उम्मेदवारमा सिफारिस भएका मनोज साह भने गठबन्धनको भागबन्डामा असन्तुष्ट बनेर पार्टीमा विद्रोह गरी स्वतन्त्रबाटै उम्मेदवार बनेका छन् ।

१२,बैशाख.२०७९,सोमबार ०९:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्