सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्ण कुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगराएर माओवादी केन्द्रकी दुर्गा थापालाई सघाउने सहमति भएको छ ।

सत्ता गठबन्धनका दलहरुको बैठकले एमालेसँग तालमेल नगर्न सर्कुलर गरे पनि सिन्धुपाल्चोकको सुनकोशीमा भने गाउँपालिकास्तरीय नेताहरूबीच एमालेसँग तालमेल भएको हो । सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । अहिले सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रवण जीसी उम्मेदवार छन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता सुवोध सापकोटाले तल्लो तहको मनोविज्ञान विरुद्ध जान नसकिएको बताए । ‘तलका साथीहरुले कांग्रेससँग कुनै पनि हालतमा तालमेल गर्न सकिंदैन भन्दै आउनु भएको थियो, त्यही अनुसार एमालेसँग तालमेल गर्नु भएछ,’ सापकोटाले भने । सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाका अन्य पालिकामा पनि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग माओवादी केन्द्रको तालमेल भएको छैन ।

१६,बैशाख.२०७९,शुक्रबार ०८:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्