मिथिला मेयरमा बागी उठेका एमाले नेता महतोले उम्मेदवारी फिर्ता लिँदै

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा बागी उम्मेदवारी दिएका नेकपा एमालेका नेता हरिनारायण महतोले मनोनयन फिर्ता लिने भएका छन् ।

हरिनारायण निवर्तमान मेयर हुन् । टिकट नपाएकोमा आक्रोशित बन्दै स्वतन्त्र मनोनयन दर्ता गराएका महतोले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेका हुन् । काठमाडौंमा रहेका उनी केहीबेरमा धनुषा फर्किएर साँझसम्म फिर्ता लिने तयारी छ ।

मिथिलामा एमालेले राजाराम महतोलाई मेयरमा अघि सारेको छ । ७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए । त्यसैकारण हरिनारायणलाई जितका लागि सहज भएको थियो ।

मेयरमा निर्वाचित भएको केही दिनपछि हरिनारायणले राजारामलाई एमालेमा प्रवेश गराएका थिए ।

हरिनारायणले अध्यक्ष ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेको बताए ।

उनले भने, ‘अध्यक्ष कमरेडले तपाईंको व्यवस्थापन गर्छौं भन्नुभएको छ ।’ उनले अब मेयर उम्मेदवार राजारामलाई इमान्दारिपूर्वक सघाउने पनि प्रतिबद्धता जनाए ।

१६,बैशाख.२०७९,शुक्रबार १४:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्