मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा चुनावी समीकरण बदलिएको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेपछि चुनावी समीकरण बदलिएको हो ।

गत निर्वाचनमा नेकपा एमालेका हरिनारायण महतोले मिथिला नगरपालिको मेयरमा जितेका थिए । एमालेले योपटक राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएको छ । टिकट नपाएपछि रुष्ट बनेर बागी उम्मेदवार बनेका निवर्तमान मेयर हरिनारायणले शुक्रवार उम्मेदवारी फिर्ता लिए ।

हरिनारायणले उम्मेदवारी फिर्ता लिने सुइको पाएलगत्तै नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरुले तालमेलको प्रयास गरे । तर कांग्रेससंग कुरा नमिलेपछि माओवादी र जसपाबीच तालमेल गरेको बुझिएको छ ।

माओवादीले मेयर र जसपाले उपमेयर लिएर तालमेल गरेका छन् । मिथिला नगरपालिकामा ११ वडा छन् । जसमध्ये माओवादीले ६ वटा र जसपाले ५ वटा वडा पाएका छन् ।

सहमतिअनुसार शुक्रबार जसपाबाट मेयरका उम्मेदवार चन्देश्वर महतो र माओवादीकी उपमेयरका उम्मेदवार विमला अधिकारीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

अब माओवादीका मेयर उम्मेदवार रामकुमार महतो र जसपाकी उपमेयर उम्मेदवार मनुमाया मोक्तानले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।

एमालेबाट राजाराम महतो र कांग्रेसबाट महिन्द्र महतोले मेयरका प्रतिस्पर्धा गर्नेछन् । गत निर्वाचनमा राजाराम कांग्रेसका बागी उम्मेदवार थिए । निर्वाचनपछि उनी एमालेमा प्रवेश गरे र अहिले एमालेबाट टिकट पाउन सफल भए ।

यो नगरपालिकामा एमाले र कांग्रेस अब्बल छन् । त्यसैले माओवादी र जसपा तालमेल गरेर प्रतिस्पर्धामा उत्रेका छन् । अब गठबन्धन, कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

१७,बैशाख.२०७९,शनिबार ११:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्