१ हजार ५५६ वटा शंकास्पद कारोबारको अध्ययन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंककाे वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको अध्ययन सुरु गरेको छ । नेपालमा पछिल्लो समय भएका कारोबारहरु शंकास्पद देखिएपछि सो इकाइले सूक्ष्म अध्ययन गरेको हाे ।

गत फागुन मसान्तसम्म १ हजार ५५६ वटा शंकास्पद कारोबारकाे प्रतिवेदन प्राप्त भएको राष्ट्र बैंकले बताएको छ । आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा अवैध मानिएको विभिन्न क्षेत्रमा बैंकमार्फत कारोबार भएका घटनाहरु बहिरिरहेका छन् ।

गत फागुन मसान्तसम्ममा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएको छ । इकाइले १९९ वटा प्रतिवेदन अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाइएको छ ।

राष्ट्र बैंकले गत फागुन मसान्तसम्ममा सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाएकाे छ । बैंकका अनुसार हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरिएको छ ।

१९,बैशाख.२०७९,सोमबार १४:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्