रोजगारीका लागि भारत पुगेका नेपालीहरुको अवस्थाबारे अनुसन्धान हुने

डोटी । राष्ट्रिय मानवअधिकार आयोगले रोजगारीमा लागि भारत गएका नेपालीहरुको मानवअधिकारको अवस्थाबारे अनुसन्धान गर्ने भएको छ ।

मंगलबार डोटीमा आयोजना गरिएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका उपसचिव हरि ज्ञवालीले श्रमका लागि भारत गएकाहरुको मानवअधिकारको अवस्था दयनीय भएको भन्ने गुनासाहरु आएका कारण अनुसन्धान गर्न लागिएको जानकारी दिए । उनले प्राध्यापक डा. गोबिन्द सुवेदीको नेतृत्वमा अनुसन्धान टिम गठन भई काम अगाडि बढेको समेत वताए ।

‘देशभित्र काम नपाएपछि परिवार पाल्नकै लागि भारत पस्न बाध्य भएका व्यक्तिहरुले सम्मानित जीवन जिउन पाउनु पर्छ’ ज्ञवालीले भने, ‘निकृष्ट प्रकारको काम गर्नु पर्ने, बाटोमै लुटिने जस्ता समस्याहरु उनीहरुले भोग्नु परेको छ ।’ रोजगारीका लागि भारत जानेहरुले भोग्नु परेका समस्या र समाधानका उपायहरु समेत पत्ता लगाई सरकारलाई सुझाव दिने उद्देश्यका साथ अनुसन्धान थालिएको ज्ञवाली वताउँछन् ।

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर बिष्टले डोटीबाट रोजगारीका लागि भारत जानेको संख्या धेरे रहेको वताए ।

सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालले डोटी जिल्लाका चार वडामा गरेको अध्ययनले रोजगारीका लागि भारत गएका दुई सय ६ जना उतै बेपत्ता भएको देखाएको छ ।

‘रोजगारीका लागि भारत गएर परिवारको सम्पर्कमा नआएको २० बर्ष भन्दा बढी भएका परिवारहरु पनि छन्’ निड्सका कार्यक्रम अधिकृत दिर्खराज ओझा भन्छन् ‘हामीले सम्पर्क बिहिन भएको पाँच बर्षदेखि २० बर्ष भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरेका हौं ।’ भारतबाट आउँदा बाटोमै लुटिने, सिमानाकामा झन्झट व्यहोर्नु पर्ने जस्ता समस्या उनीहरुले झेल्नु परेको ओझा वताउँछन् ।

गत वर्ष एक सय दुई जना हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको कार्यालयका प्रहरी नायव उपरीक्षक भोला भट्टराई बताउँछन् । उनले हराएकामध्ये ६८ जना फेला परेका र बाँकी ३४ जना अझै हराइरहेको वताए ।

२०,बैशाख.२०७९,मंगलवार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्