फुटबल विवाद चाँडो समाधान गर्नुपर्छ : सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद चाँडै समाधान गर्नुपर्ने बताएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् ।

त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी गराएका थिए ।

त्यसपछि एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम सुनाएका थिए ।

खेलाडीको कुरा सुनेपछि सदस्य सिचव घिसिङले यस विवादबारे आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग त्यसबारे चाँडै निकास दिन मौखिक रुपमा भनिसकेको बताए ।

एन्फा अध्यक्षले यसबारे छलफल भइहरेको भनेर जानकारी गराए पनि ठोस निर्णय गरेको छैन ।

मंगलबार खेलाडीहरुको कुरा सुनेपछि सदस्य सचिव घिसिङले फेरि एन्फा अध्यक्ष शेर्पालाई यो विवाद एन्फा भित्रैबाट समाधान गर्न र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।

‘यो विवाद यति लम्बिन हुँदैनथ्यो । मैले एन्फा अध्यक्षलाई के भएको हो चाँडो समाधान गर्नुपर्छ भनेर भनिसकेको छु । आज पनि भन्छु । त्यो भएन भनेर लिखित पनि दिन्छ’, सदस्य सचिव घिसिङले भने । उनले एन्फा भित्रबाट समस्याको समाधान नभए राखेपबाट अर्को कदम चाल्नुपर्ने विषय आउने पनि बताए ।

यस्तै एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले प्रशिक्षकको काम खेलाडीलाई सिकाउने भन्दै व्यवस्थापन पाटो हेर्ने काम व्वयस्थापनको रहेको बताए । नेपाल ओलम्पिक संघका अध्यक्ष दिपक विष्टले अहिलेको विवादले गर्दा खेलाडीहरुमाथि मानसिक तनाव भएको बताए ।

खेलाडीहरुले भने सदस्‍यसचिव सामू यसबारेमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका छन् ।

‘हामीलाई भागेको खेलाडी भनेर परिवारमा अरुले सुनाउँदा कस्तो होला ? हामी मानसिक रुपमा पनि थाकिसक्यौँ । अब यसको निष्पक्ष छानबिन होस् । यदि हामी दोषी भए कारबाहीको भागिदार हुन तयार छौ ।’ सबै खेलाडीहरुले एउटै स्वरमा भने।

यसअघि खेलाडीले सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका थिए । खेलाडीहरु मंगलबारै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेट सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगिसकेका छन् ।

गत मंगलबार खेलाडीले बन्द प्रशिक्षण छाडेको घटनाबाट सुरु भएको विवाद एक साता लम्बिँदा पनि अहिलेसम्म निकास भने आएको छैन ।

२०,बैशाख.२०७९,मंगलवार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्