गगनलाई भ्याइनभ्याइ: पाँच दिनमै ५० चुनावीसभालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दिनमै ५० भन्दा बढी चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रभावशाली वक्ता थापालाई ६० भन्दा बढी जिल्लामा सम्बोधन गर्न निम्तो आएको थियो । त्यसमध्ये सम्भव हुने जति स्थानमा पुग्ने तयारी थापाले गरेका छन् ।

महामन्त्री थापाको सचिवालयका अनुसार वैशाख २३ गते रौतहटमा पाँचवटा सभामा थापा सहभागी हुनेछन् । वैशाख २४ गते रामेछाप, सोलुखुम्बु र भोजपुरका चुनावी सभालाई थापाले सम्बोधन गर्नेछन् ।

वशाख २५ गते महोत्तरीका चारवटा चुनावी सभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् भने वैशाख २६ गते उदयपुर, सप्तरी, सुनसरी र मोरङ पुग्नेछन् ।

वैशाख २७ मा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहहरुमा आयोजना हुने चुनावीसभालाई महामन्त्री थापाले सम्बोधन गर्नेछन् । उपत्यकाका सबैजसो पालिकामा चुनावीसभाका लागि पुग्ने तयारी थापाको सचिवालयले गरिरहेको छ ।

चुनावी प्रचारका लागि कम समय भएकोले निम्तो आएका अधिकांश जिल्ला पुग्न भने थापाले भ्याउने छैनन् । कांग्रेसले निर्धारण गरेको चुनावी सभाअन्तर्गत थापाले बुटवलमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्नेछन् ।

‘६० भन्दा बढी जिल्लाबाट एकपटक भएपनि आइदिनुपर्यो भन्ने निम्तो छ । तर समय कम भएकाले मौन अवधि सुरु हुनुअगाडिसम्म भ्याउने जति जिल्ला पुगे ५०–६० वटासम्म सभालाई सम्बोधन गर्ने तयारी छ’, थापाका राजनीतिक सहयोगी सविन मुडभरीले भने ।

२१,बैशाख.२०७९,बुधबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्