विराटनगर पुगेर देउवाले भने- चित्त बुझेपनि नबुझेपनि गठबन्धनमै भोट दिनुहोला

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्मै गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

मोरङको विराटनगरमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय निर्वाचनसम्मै गठबन्धन अगाडि बढ्ने संकेत गरे ।

‘वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय मैले गरेको छु । असाध्य रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ । विकास निर्माणको काम गर्न पनि राष्ट्रिय चुनावसम्मै गठबन्धनलाई जिताउनुस्’, देउवाले भने ।

विराटनगर महान् नेताहरूको भूमि रहेको भन्दै आन्तरिक असन्तुष्टि बिर्सेर गठबन्धनलाई जिताउन देउवाको अनुरोध थियो । ‘चित्त बुझेपनि नबुझेपनि गठबन्धनलाई जिताउनुहोला’, देउवाले भने ।

विराटनगर महानगरको मेयरका प्रत्याशी नागेश कोइरालालाई विगतमा अन्याय भए पनि अहिले न्याय भएको देउवाले बताए ।

‘पहिले पनि मेयर बनाउन सकिन । प्रदेशको एमपी दिन पनि सकिएन । त्यही भएर नागेशजी मसँग रिसाएर चुर थिए । अहिले त खुसी भए होलान् । काम गर्ने मान्छे हुन् नागेशलाई जिताउनुहोला । उपमेयरमा जसपाको छातामा पनि भोट हालेर जिताइदिनुहोला’, देउवाले भने ।

२१,बैशाख.२०७९,बुधबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्