कोरोना खोप लगाउन छुटेका सबैलाई मतदानस्थलमा खोप लगाउन सरकारको अपील

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन अनुरोध गरेको छ ।

पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । उनले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरिन् ।

‘यदि कुनै कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुट्नु भएको छ भने मत हालेपछि खोप लगाउन सक्नुहुन्छ । मतदान स्थलमा खोप दिने व्यवस्थाको तयारी थालेको छौ । त्यसैले खोप छुटेका व्यक्तिले त्यसदिन मतदाता परिचयपत्रसंगै खोप कार्ड समेत लिएर जानुहोला,’ डा. मिश्राले भनिन् ।

कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोरोना विरुद्ध खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । हाल दैनिक २० हजारको हाराहारीमा खोप लगाउने गरेका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशका भण्डारण केन्द्रमा एक करोडभन्दा बढी डोज खोप मौज्दात छन् । स्रोतका अनुसार केही महिनामाभित्रै लाखौं डोज खोपको म्याद सकिन लागेकाले सरकारले निर्वाचन लक्षित गरेर खोप दिन लागेको हो ।

२१,बैशाख.२०७९,बुधबार १८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्