सार्वजनिक सेवा डिजिटल सिस्टममार्फत घरघरमै पुर्याउँछाैँ : समीक्षा बाँस्कोटा

नेपाली जनता
nepalijanta73@gmail.com

‘राजनीतिमा भएको फोहोर र राजधानीमा भएको फोहोर सफा गर्न’ भन्दै युवा नेतृ समीक्षा बाँस्कोटा काठमाडौं महानगरपालिकाको मेयरमा चुनावी मैदानमा छिन् ।
उनी महानगरवासीको घरघरमा पुगेर मत मागिरहेकी छिन् । मतदाताले आफ्ना एजेन्डा मन पराएको र मत दिएर विजयी गराउने भनेकोमा उनी उत्साहित छिन् ।
२०७४ सालमा प्रदेश सभा निर्वाचनमा पनि उनी प्रतिस्पर्धी थिइन् ।
बौद्धिक नेतृको पहिचानसमेत बनाएकी उनै बाँस्कोटासँग मेयर बने काठमाडौं महानगरपालिकालाई कस्तो बनाउनुहुन्छ भनेर प्रश्न गरेका छौँ । यिनै प्रश्नको सेरोफेरोमा रहेर गरेको कुराकानी :–

तपाईंले चाहेको काठमाडौं महानगर कस्तो हो ?
पहिलो त भ्रष्टाचार नियन्त्रित काठमाडौं महानगरपालिका चाहेकी हुँ । सुशासन र जनमुखी सेवा प्रवाह भएको महानगरपालिका बनाउन चाहेकी हुँ ।
भ्रष्टाचार नियन्त्रण गर्न पूरै महानगरपालिका र यहाँका सबै वडालाई ‘डिजिटलाइज’ गरेर ‘सिस्टम’ले काम गर्ने हो । यही सिस्टमबाट हामी सार्वजनिक सेवा घरघरमा प्रवाह गर्ने पक्षमा छौँ । नागरिकलाई आवश्यक सबै सेवा घरघरमै व्यवस्था गर्छौं । यसले भ्रष्टाचार नियन्त्रण मात्र होइन, सुशासन कायम गर्छ । सेवा प्रवाह पनि चुस्तदुरुस्त हुन्छ ।

डिजिटल प्रणालीबाट प्रवाह गर्न चाहेका सेवाहरू के–के हुन् ?
वडामा ढड्डा पल्टाउने पुरानो शैली जुन अहिले पनि छ नि, त्यसलाई पूरै ‘डिजिटलाइज’ गर्ने हो । नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतको सिफारिसका लागि सेवाग्राहीले अनलाइनबाट ‘अपलोड’ गर्न र त्यसको प्रमाणीकरण अनलाइनबाटै हुने व्यवस्था गर्ने हो ।

डिजिटल कपी चाहिने भए इमेलबाट प्राप्त हुने र त्यसलाई प्रिन्ट गरेर प्रयोग गर्न सक्ने बनाउन चाहन्छौँ । यसो हुँदा समय वचत हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्न टेवा पुग्छ ।

काठमाडौंमा यातायात सेवा पूरै अस्तव्यस्त छ । व्यवस्थित बनाउन तपाईंको एजेन्डा के छ ?
यसका लागि पहिलो त सुलभ र व्यवस्थित सार्वजनिक विद्युतीय यातायात सेवा सुरु गर्नुपर्छ भन्ने हाम्रो एजेन्डा छ । साना, मझौला र ठूला सबै सवारी साधनलाई छाता सङ्गठनमा ल्याएर द्रुत गतिका र मझौला बसलाई चलाउने, जुन चाहिँ सुलभ पनि होस्, व्यवस्थित पनि होस् र अपाङ्गतामैत्री पनि होस् ।

बिस्तारै यी सवारीसाधनलाई विद्युतीय यातायातमा रुपान्तरण गर्दै लाने भन्ने हो । र, जताजतै अस्तव्यस्त पार्किङ छ । बहु तले भवन बनाएर पार्किङ व्यवस्थित गर्छौं ।
अनि, यससँगै हामी काठमाडौंमा नेवाः कला र संस्कृतिको पुनर्जागरण गर्ने पक्षमा छौँ । यो त जीवन्त सांस्कृतिक संग्राहलय बन्न योग्य सहर पनि हो । यहाँका नेवाः संस्कृति र कलाको संरक्षण गर्न चाहन्छौँ ।

यहाँका मुख्य नदी बागमती, विष्णुमती लगायतलाई संरक्षण र सफा पार्छौं । प्राकृतिक बहावमा छोड्छौँं । नदी आसपासको क्षेत्रमा वृक्षारोपण गर्छौं ।
काठमाडौंलाई सफा र व्यवस्थित राख्ने पनि हाम्रो एजेन्डा छ । अहिले फोहोर व्यवस्थापन समयमा हुन सकिरहेको छैन । धँुलो र धुवाँको प्रदूषण उस्तै छ । सुन्दा सानो कुरा जस्तो लागे पनि काठमाडौंमा दशकौंदेखिको समस्या फोहोर व्यवस्थापन हो । प्रदूषणको हो ।

तपाईले जिते पाँच वर्षमै त यी काम पूरा होलान जस्तो छैन नी ?
नसकिने के नै छ र ? सिस्टम डिजिटलाइज गर्न पाँच वर्ष पर्खिनै पर्दैन । १–२ वर्षमै सम्भव छ । नदी सफाइको सन्दर्भमा एउटा कुरा जोड्छु । भारतको केरलामा ७० दिनमा सात सय जना लागेर त्यहाँको ‘मृत’ नदीलाई पुनस्र्थापना गरे । यहाँ सातामा एक दिन बागमती सफा गर्छु भनेर केही हुँदैन । त्यसको मूल सफा गर्नुप¥यो । यस्तो इच्छाशक्ति भएको व्यक्ति महानगरको प्रमुख पदमा पुगेको अवस्थामा जे–जे प्रतिज्ञापत्रमा उल्लेख छ, पूरा नगर्ने भन्ने हुँदैन ।

हामीले भनेका छौँ ५० वटा सार्वजनिक शौचालय काठमाडौंमा एक वर्षभित्रमा बनाउँछौँ । हामीले ठ्याक्कै पाँच वर्षभित्र गर्न सकिने एजेन्डा मात्रै तय गरेका छौं ।

यहाँको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा पनि उस्तै छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाम्रो सङ्घीय शिक्षा नीतिमै परिवर्तन आवश्यक छ । यो शिक्षा नीति व्यापारीलाई पोस्ने र सामुदायिक विद्यालयलाई मास्ने खालको छ । विवेकशील साझा पार्टीले उठाएको एजेन्डा भनेको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्‍यो भन्ने हो । शिक्षा निःशुल्क तर गुणस्तरीय हुनुप¥यो । निःशुल्क भन्दैमा जिर्ण हुनु भएन ।

बुढानीलकण्ठ शैलीका स्कुलहरू देशभर बन्नु पर्यो भन्ने हो । र, काठमाडौं महानगरमा करिब ९२ जना सामुदायिक विद्यालय छन् । दूरी नजिक भएका विद्यालयलाई गाभ्ने, भौतिक संरचना एकै ठाउँमा ल्याएर नमुना विद्यालय बनाउने र न्यून आय अथवा विपन्न आय भएका वर्गको मात्र पहुँच भएको सामुदायिक विद्यालयको शिक्षकहरूलाई तालिमप्राप्त बनाउने र हरेक अभिभावकको रोजाइ सामुदायिक विद्यालयको शिक्षा हुने बनाउँछौं ।

हामी ‘सार्वजनिक–साझदोरी’ मोडलमा काम गर्न सक्छौँ । शिक्षाविद्हरूसँग बसेर नवीन र समयानुकूल सामुदायिक शिक्षाको सवालमा काम गर्न भन्ने हो । विद्यार्थीको दलगत संगठनलाई बढ्वा दिँदैनौँ । विद्यालय व्यवस्थापन समितिमा दलगत भागबन्डा तोड्छौँ । शिक्षालाई दलहरूले प्रमुख एजेन्डा चाहिँ बनाउनुपर्छ तर शिक्षामा राजनीतिक गर्नुहुँदैन भन्ने पक्षमा छौँ ।

यहाँको सम्पदा संरक्षणमा तपाईंको केही योजना छ ?
स्थानीय गुठीलाई परिचालन गरेर सम्पदाहरूको संरक्षण थाल्ने हो । हाम्रा ढुङ्गे धारा, हिटीलगायत संरक्षणविहीन छन् । यहाँका ढुङ्गा ढुङ्गामा हाम्रो कला छ । त्यसलाई कसरी पुनर्जागरण गरेर अर्को पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।

नेवाः संस्कृति, सम्पदा, कलाको संरक्षण गर्ने हाम्रो नीति छ । यहाँ बौद्ध विहार, मठ मन्दिर छन् । तर, कतिपय जिर्ण अवस्थामा छन् । यिनीहरूको संरक्षण र थप विकास गरेर ‘ब्रान्डिङ’ गर्न चाहन्छौँ ।

२२,बैशाख.२०७९,बिहीबार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: