रेनुलाई कृष्णभक्तको प्रश्न- ओली सरकारले गरेका कामको जस लिँदै भोट माग्न लाज लाग्दैन ?

भरतपुर । नेकपा (एमाले) का नेता एवम् चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले भरतपुर महानगरका निवर्तमान मेयर तथा हालकी उमेदवार रेनु दाहाल आफूले गर्दै नगरेका काम पनि गरेको भन्दै प्रचारमा लागेको बताएका छन् ।

एमाले भरतपुर महानगरपालिका १२ नम्वर वडा कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पोखरेलले कतिपय हुदै नभएको र केपी ओली सरकारले पठाएको बजेटबाट हुँदै गरेको कामको जससमेत लिएर प्रचारमा उत्रिएको देख्दा आफू आश्चर्यमा परेको बताए ।

‘सिटी हल, गोन्द्राङ-पुल्चोक सडक स्वयम् तत्कालीन प्रधानमन्त्री ओली आफै आएर संघीय सरकारको बजेटमा काम अघि बढिरहेको होइन ? रिङ रोड बनाएँ भनेर प्रचार गरेको सुन्छु यहीँ १२ नम्वर वडामा कहाँ छ रिङ्गरोड ? गर्दै नगरेको हुदै नभएको काम गरे भनेर प्रचार गर्न अफ्ठ्यारो लाग्दैन ?’, पोखरेलले प्रश्न गरे ।

पछिल्लो पाँच वर्ष भरतपुर महानगरको व्यर्थ बितेको नेता पोखरेलले बताए । एमाले मेयर उमेदवार विजय सुवेदीको जीत सुनिश्चित रहेको बताउँदै उनले अब एमालेको अगुवाइमा भरतपुर महानगरको समृद्धि अभियान अघि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने, १२ नम्बर कार्यवाहक वडा अध्यक्ष विमला भट्टराई, वडाअध्यक्ष उम्मेदवार लेखराज पन्तसहित सदस्यका उमेदवारहरू र स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।

२५,बैशाख.२०७९,आईतवार १४:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्