सिराहामा मतदातालाई पैसा बाँड्ने माओवादी कार्यकर्ता पक्राउ, ९ हजार रुपैयाँ बरामद

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेका प्रेमकुमार लामा सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् ।

लामालाई गोलबजार नगरपालिका २ गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएका थिए ।

लामाले स्थानीय भुला महतोलाई पैसा दिने क्रममा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोल बजारको जिम्मा लगाइएको थियो ।

प्रहरीसमक्ष अन्य केही व्यक्तिले लामाले रकम बाँडेको बयान दिएका छन् ।

गोल बजारका प्रहरी निरीक्षक राजु केसीले पैसा बाँड्न लागेको भन्दै लामालाई नियन्त्रणमा लिएर बुझाइएको पुष्टि गरे ।

उनले लामाबाट मतपत्र र ९ हजार रुपैयाँ बरामद भएको तथा थप अनुसन्धान भइरहेको बताए ।

२८,बैशाख.२०७९,बुधबार १४:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्