निजी विद्यालयमा पनि दुई दिन बिदा, हिउँदे र बर्खे बिदामा कटाैती

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपालप्रेसलाई बताए । उनले भने, ‘बिदा दिने निर्णय सरकारले गरेको हो । हामीले प्रस्ट पारिदिएकोमात्र हो । शनिबार र आइतबार बिदा हुने भएपछि कसरी मिलाउने भनेर भनेको हो ।’

शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने उनले बताए । अरु नपुग हुने दिन हिउँदे र बर्खे बिदाबाट कटाएर पढाइ सकाउनेसमेत निर्णय भएको उनले जानकारी दिए ।

मन्त्रालयकाे निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।

२८,बैशाख.२०७९,बुधबार १६:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्