चुनावमा वैधानिक खर्च ४५ अर्ब, अदृश्य खर्च कति ?

काठमाडौं । मुलुक ७५३ स्थानीय सरकारको नयाँ नेतृत्व चयनका लागि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रतीक्षामा छ । अहिले देशभरका मतदाता आफ्नो नजिकको सरकार चयनका लागि मत व्यक्त गर्ने तयारीमा छन् ।

चुनाव भन्नेवित्तिकै चुन्ने र चुनिने विषयमा मात्र सीमित छैन । यो अत्यधिक पैसा खर्च हुने कार्यक्रम पनि हो । चुनावको तयारी, सुरक्षा, मतदान र मतगणनासम्मका कामका लागि सरकारले पनि ठूलो रकम खर्च गरेको हुन्छ भने चुनाव प्रचारका लागि उम्मेदवारले पनि उत्तिकै खर्च गरेका हुन्छन् ।

चुनावका लागि सरकारले बजेटमै खर्चको व्यवस्था गरेको हुन्छ, उम्मेदवारलाई चुनाव प्रचारमा खर्च गर्न निर्वाचन आयोगले रकमको सीमा तोकिदिएको हुन्छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सामान्य अनुमानमा पनि सरकार र उम्मेदवारको तर्फबाट ४५ अर्ब भन्दा बढी खर्च हुने देखिन्छ ।

७५३ स्थानीय तहमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य गरी ३५ हजार २१२ पदका लागि एक लाख ४५ हजार १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यी उम्मेदवरले निर्वाचन आयोगले तोकेको सीमाभित्रको रकम खर्च गर्दा यो चुनावमा उम्मेदवारबाट २९ अर्ब ५० करोड ७८ लाख रुपैयाँ खर्च हुन्छ ।

यही निर्वाचनका लागि सरकारले करिब १६ अर्ब रुपैयाँ खर्च गर्नेछ । अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका लागि १६ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता र निकासा भएको छ ।

यसरी सरकारी निकाय र उम्मेदवारको तर्फबाट हुने वैधानिक खर्च ४५ अर्ब ५० करोड रुपैयाँ नाघ्ने देखिन्छ । जसमा पर्यवेक्षकका रुपमा गैरसरकारी संस्थाले गर्ने खर्च समावेश छैन ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार निर्वाचन आयोग र सुरक्षा निकायबाट २० अर्ब रुपैयाँ भन्दा बढी माग भएको थियो । अत्यावश्यक खर्च मात्र छुट्याउँदा राज्यको १६ अर्ब रुपैयाँ खर्च हुने उनले बताए । ‘माग्ने बेला स्वभाविक रुपमा केही बढी माग्ने गरिन्छ त्यसमा काँटछाँट गरी चाहिने रकम उपलब्ध गराइएको छ’ उनले भने ।

यो पनि पढ्नुहोस  तीन सहमहामन्त्री पदको मतगणना शुरू

निर्वाचन आयोगले स्थानीय चुनावमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवारका लागि अलग अलग चुनाव खर्च तोकेको छ ।

महानगरपालिका मेयरका उम्मेदवारले सात लाख ५० हजार, उपमहानगरपालिका मेयरका उम्मेदवारले पाँच लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् । नगरपालिकाका मेयरका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ रुपैयाँ खर्च गर्न पाउँछन् ।

कुन पदमा कति उमेदवार र खर्चको सिलिङ ?

२८,बैशाख.२०७९,बुधबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: