सिद्धार्थनगरको मेयरमा कांग्रेस र उपमेयरमा राप्रपा अगाडि

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नंं. १ र २ को मत गणना सकिएको छ । वडा नंं. १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव विजयी भएका छन् ।

पोखरेल ७ सय ५८ मत ल्याएर विजयी भएको सिद्धार्थनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । पोखरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतसहित विजयी हुँदा नेकपा एकीकृत समाजवादीका सुशील कुमार पुनले ४ सय ३६ मत प्राप्त गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इस्तियाक अहमद खाँनले अग्रता कायमै राखेका छन् । ४ हजार २ सय ४१ मत गणना हुँदा खाँनले १ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् भने राप्रपाका सागरप्रताप राणा १ हजार १ सय ४६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका डा. रामप्रसाद बस्यालले ६ सय ५३ र जसपाका मातृकाप्रसाद यादवले ३ सय ८७ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा भने राप्रपाकी बिनिता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले १ हजार ५० मत प्राप्त गर्दा नेकपा माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापा ८ सय ९४ मत ल्याउँदै दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेकी उमा अधिकारीले ८ सय ४९ मत र जसपाकी आश्मा खातुनले ६ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

१,जेष्ठ.२०७९,आईतवार १०:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्