भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्रसमेत तयार भइसकेको छ । उक्त केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र सोही हलमा हुने विशेष कार्यक्रममा मोदीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । दुई प्रधानमन्त्री देउवा र मोदीले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्नेछन् ।

गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्रमन्त्री नारायण खड्का सोमबार लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक चोकचोकमा स्वागतद्वार निर्माण गरिएको छ ।

१,जेष्ठ.२०७९,आईतवार १०:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्