ओखलढुंगाको चिशंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका शर्मा निर्वाचित

ओखलढुंगा । चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा अध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा निर्वाचित भएका थिए । शर्माले ३ हजार १९८ मत प्राप्त गरेका छन् भने थापाले २ हजार ६९१ मत पाएका छन् ।

यसैबीच गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

थापाले तीन हजार ११६ र राईले दुई हजार ५० मत प्राप्त गरेका छन् । चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

पालिकाको आठ वडामध्ये चार वडामा माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १ मा उषा कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र ४ मा हिमाल राई विजयी भएका हुन् ।

वडा नम्बर ६ र ७ मा कांग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् । वडा नम्बर ८ मा एमालेका उम्मेदवार सुशीलजंग कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुन: मत गणना गरिएको छ ।

अन्य पालिकाहरुको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

२,जेष्ठ.२०७९,सोमबार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्