संसद् अवरोध गर्ने/नगर्नेबारे निर्णय भइसकेको छैन : उपनेता नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् । उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्शमा रहेको जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक मंगलबारका लागि बोलाइएको छ । २०७८ भदौयता संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले नयाँ अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । उपनेताले नेम्वाङले मंगलबार ३ बजेसम्म निर्णय लिने जानकारी दिए । ‘संसद्मा के गर्ने भन्नेबारे टुंगोमा पुगिसकिएको छैन । के गर्ने भनेर सल्लाह गरिरहेका छौं,’ उनले भने ।

मंगलबार नै मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा भने नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए । ‘हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौं । तर हामी छलफलमा पनि छौं । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौं । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौं । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भनेका थिए ।

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमाले संसद्मा अवरोध गर्दै आइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोहो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा पटकपटक पेसी चढेपनि सुनुवाई हुन सकेको छैन ।

३,जेष्ठ.२०७९,मंगलवार १३:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्