वैशाखमा विपद्का घटनामा परी २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको आर्थिक क्षति

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

वैशाख महिनामा ४०७ वटा विपद्का घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा २६ जनाको मृत्यु र ८९ जना घाइते भएका थिए ।

विपद्का घटनाका कारण पछिल्लो एक महिनामा देशभर ५४५ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले १९९ घरमा आंशिक र १८६ घरमा पूर्ण क्षति गरेको केन्द्रले जनाएको छ ।

विपद्का घटनामध्ये आगलागीमा परी १३, चट्याङ लागेर ७, हावाहुरीका कारण २, जनावरको आक्रमणबाट २, पहिरो परी १ र सर्पको टोकाइबाट १ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट वैशाख महिनामा मात्र ३१ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रले बताएको छ । सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले ३० करोड रुपैयाँभन्दा बढीको गरेको छ ।

विपद्का घटनाले नेपालमा वर्षेनी सयौंको ज्यान लिने गरेको छ भने करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति गर्ने गरेको छ । केन्द्रका अनुसार गत वर्ष २०७८ सालमा विपद्का ३ हजार ९१५ घटनामा ५०८ जनाले ज्यान गुमाएका थिए भने ७७ जना वेपत्ता रहेका छन् ।

गतवर्ष विपद्का घटनामा परी १ हजार ७८३ जना घाइते भएका थिए । विपद्का घटनाले २०७८ सालमा २ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको थियो ।

३,जेष्ठ.२०७९,मंगलवार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्