नेपाल टी-२० लिग आधिकारिक घोषणा, ८ असोजदेखि सुरु हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गरेको छ । बुधबार राजधानीको एक होटलमा कार्यकम आयोजना गर्दै नेपालको आधिकारिक टी–२० लिग घोषणा गरेको हो ।

असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।

यसअघि प्रस विज्ञप्तीमार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गरेको थिएन । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएर क्यान आलोचित बनेको थियो ।

पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिग घोषणा गर्न पाउँदा खुशी लागेको बताए ।

क्यानको साधारण सभाबाट दुईपटकसम्म टी–२० लिग गर्न सरकारले स्वीकृति नदिंदा रद्द गर्ने कि भन्ने सोचमा समेत पुगेको उनले बताए । दुई वर्षको मिहिनेतपछि लिग घोषणा गर्न सफल भएको सुनाए ।

यसको पहिलो संस्करण सेप्टेम्बर २४ देखि अक्टुबर २२ सम्म हुने छ । आगामी १५ दिनमा टिम लगायत सबै कुरा घोषणा हुने उनले बताए ।

यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले यसलाई नेपाली क्रिकेटको ऐतिहासिक दिन भएको बताए ।

२०७६ मा चतुर बहादुर चन्दको नयाँ नेतृत्व आएदेखि नै फ्रेन्चाइज लिग गर्ने सोचमा भए पनि कोभिड महामारी लगायतले गर्दा ढिला भएको उनले बताए ।

४,जेष्ठ.२०७९,बुधबार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्