सिरहा नगरपालिकामा एमालेको जित, मेयर बने सहिद हेमनारायणका छोरा डा. नविन

जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा सहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका पूर्वउपमेयर हुन् ।

सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव तेस्रो स्थानमा सीमित बने । उनले ७ हजार ७५२ मत पाए ।

उपमेयरमा एमालेकै वविताकुमारी साह विजयी भएकी छन् । उनले १० हजार १२६ मत ल्याएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादव ८ हजार ५७७ मत ल्याइन् ।

को हुन् डा. नविन ?

२०६० साल माघ १९ गते मारिएका तत्कालीन एमालेका नेता हेमनारायण यादवका छोरा हुन् डा. नविन । हत्यापछि उनकी पत्नी पारोदेवी संविधानसभा सदस्य बनेकी थिइन् । एमाले पटक–पटक सरकारमा पुगे पनि हत्यारालाई कारबाही गर्न नसकेको भन्दै उनका छोरा डा. नविनले पार्टी परित्याग गरेका थिए ।

उनी विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नम्बर ३ बाट सांसदमा चुनाव लडेपनि पराजित भए । त्यसपछि उनी सो पार्टीमा धेरै दिनसम्म टिकेनन् र केही दिन स्वतन्त्र बने ।

उनको सिरहा सदरमुकाममा क्लिनिक पनि छ । राजनीतिसंगै उनी क्लिनिक पनि चलाउँछन् । उनी नयाा शक्ति पार्टी खुलेका बेला डा. बाबुराम भट्टराईसंग नजिक बने । तर अन्ततः पुनः नेकपा एमालेमै फर्किए ।

२०७४ को निर्वाचनमा उनले नेकपा एमालेबाट मेयरको टिकट पाए । तर चुनाव जित्न सकेनन् । योपटक पनि उनलाई मेयरमा चुनाव जित्न चुनौती थियो । तर सबै चुनौती पार गरेर चुनाव जित्न सफल भएका छन् ।

डा. नविनका काका प्रमोद यादव, जो नेकपा एमाले विभाजन हुंदा नेकपा एकीकृत समाजवादीमा लागेर प्रदेशमन्त्री छन् । उनले एकीकृत समाजवादीबाट पत्नी रीता कुमारीलाई मेयरमै चुनाव लड्न लगाए । जसका कारण डा. नविनलाई चुनाव जित्न गाह्रो हुने धेरैको अनुमान थियो ।

५,जेष्ठ.२०७९,बिहीबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्