शुक्लाफाँटाको मेयरमा एमालेका महरा निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पन्त निर्वाचित भएकी छन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० र एमालेकी मोनिका भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् ।

नवनिर्वाचित मेयर महराले शुक्लाफाँटालाई समृद्ध र नमूना नगर बनाउने घोषणा गरेका छन् । ‘सुन्दर नगर बनाउने सपना बोकेर हिँडेका छौं, नमूना नगर बनाउने हामीसँग भिजन छ,’ उनले भने, ‘गरिब, पिछडिएका बर्गका लागि हामी काम गर्ने छौं ।’

उनले प्रत्येक वडामा प्राविधिक खटाउने र कृषिमा लगानी बढाउने बताएका छन् ।

को हुन् रणबहादुर महरा ?

२०४६ सालदेखि राजनीतिमा लागेका महराले २०६२ सालसम्म पुर्ख्यौली थलो बैतडीमा राजनीति गरे । उनी तत्कालिन श्रीकोट गाउँ कमिटी र इलाका कमिटी हुँदै बैतडी जिल्ला कमिटी सदस्य भए । २०५४ सालमा जिल्ला विकास समिति बैतडीको सदस्यमासमेत निर्वाचित भए ।

२०६३ सालमा नेकपा एमाले कञ्चपुर जिल्ला कमिटी सदस्य भएका महरा जिल्ला कमिटीको सहसचिव हुँदै अहिले प्रदेश कमिटी सदस्य छन् ।

महरा तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालाको छानबिन समितिको संयोजक भएर काम गरे । अहिले धेरैले भन्ने गरेको ‘महरा प्रतिवेदन’ उनकै नेतृत्वमा तयार भएको हो । त्यही प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा घोटाला काण्डको छानबिन अगाडि बढाई एक सय भन्दा बढी व्यक्तिमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

८,जेष्ठ.२०७९,आईतवार १३:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्