‘मिटू’को अर्को दर्दनाक कथा : स्कुलका प्रिन्सिपलबाटै छात्रामाथि दुई वर्षसम्म यौन शोषण !

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट भएको यौन शोषणको घटनाले व्यापक चर्चा पाइरहँदा अर्को उस्तै दर्दनाक घटना सार्वजनिक भएको छ ।

एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा आफ्नो कथा सुनाएकी छन् ।

आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२/७३ मा उनीमाथि यौन शोषण गरेका हुन् ।

१५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले गिद्धे दृष्टि लगाएको उनको भनाइ छ । प्रिन्सिपलको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थाले ।

उनले लेखेकी छन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्‍यो ।’

उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको उनको भनाइ छ ।

एसईई सकेपछि उनले हिम्मत जुटाएर घटनाबारे परिवारलाई बताइन् । र, प्रहरीमा उजुरी पनि गरिन् । तर, लगत्तै आरोपी फरार भएका थिए । अहिलेसम्म प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सन्देशसिंह थापाले यस घटनाबारे २०७४ सालमा जिप्रकामा मुद्दा दर्ता भएको पुष्टि गरे । यद्यपि, मुद्दा दर्ता भएको दुई वर्षपछि मात्रै आफू सरुवा भएर सो कार्यालयमा आएकाले पूर्ण रूपमा जानकारी नरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रेससँग भने ‘मुद्दा २०७४ मा नै जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको रहेछ । हद म्यादमा नै अदालतमा प्रवेश पाइसकेको भन्ने पनि मैले सामान्य बुझ्दा थाहा पाए । आज बिदा भएको हुनाले भोलि अदालत खुलेपछि मात्र प्रक्रिया के कहाँ पुगेको रहेछ बुझेर जानकारी गराउन सक्छु ।’

८,जेष्ठ.२०७९,आईतवार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्