निर्वाचन परिणाम: कांग्रेस उत्साही, माओवादी सन्तुष्ट, नेकपा एस निरास

कैलाली । स्थानीय तह निर्वाचनको अधिकांश जिल्लाहरुमा नतिजा सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा गणना बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस सबै भन्दा ठूलो दल बनेको छ । ७५३ स्थानीय तहमध्ये गठबन्धन गरेर वा एक्लाएक्लै लडेर कांग्रेसले ३१३ पालिकामा प्रमुख वा अध्यक्ष र २९१ पालिकामा उपप्रमुख वा उपाध्यक्ष जितेको छ ।

कांग्रेसलाई एमालेले पच्छाइरहेको छ । अहिलेसम्म एमालेले १९३ मा प्रमुख वा अध्यक्ष र २१९ मा उपप्रमुख वा उपाध्यक्ष जितिसकेको छ । तेस्रोमा माओवादी केन्द्र छ । माओवादीले १२० मा प्रमुख वा अध्यक्ष र १२५ मा उपप्रमुख र उपाध्यक्ष जितेको छ ।

गठबन्धनमा रहेर पनि सबैभन्दा कम पालिका नेकपा एकीकृत समाजवादीले जितेको छ । अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रमुख वा अध्यक्षमा १७ पालिका र उपप्रमुख वा उपाध्यक्षमा २९ पालिका जितेको छ ।

पाँचदलीय गठबन्धनमा रहेको जसपाले २८ पालिकामा प्रमुख वा अध्यक्ष जितेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनमा रहेका दलहरू भित्र नेपाली कांग्रेस उत्साहित देखिएको छ ।

‘पार्टीको सफलताबाट हामी उत्साहित भएका छौं’, नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाल प्रेसलाई भने, ‘पार्टीमा अन्तरघात नभएको भए अझै धेरै जितिने थियो ।’

महतले गठबन्धनमा रहेका दलहरूले पनि उत्साहजनकरूपले पालिकामा विजय हासिल गरेको दाबी गरे । ‘राम्रो भएको छ । लयमा गएको छ । केही अपवादको रूपमा समस्या आउने कुरा सामान्य हो’, उनले भने, ‘यो तालमेल प्रतिनिधिसभा र प्रदेश सभासम्म जान सक्छ ।’

गठबन्धन गरेर पनि अपेक्षित नतिजा हासिल गर्न नसकेको नेकपा एकीकृतका विषयमा नेपाली कांग्रेसले राम्रो उपलब्धी हासिल गरेको ठहर छ । पार्टी निर्माणकै क्रममा पनि धेरै स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले विजयी भएको प्रवक्ता महतले बताए ।

‘समग्रमा उहाँहरुको पार्टी निर्माणकै क्रममा थियो । तुलनात्मकरूपमा कम सफल भएको जस्तो देखिएको होला । पोखरामा उहाँहरूले जित्दै हुनुहुन्छ । हेटौंडामा जित्नु भएको छ’ उनले भने, ‘भर्खरै पार्टी बनाउँदै हुनुहुन्थ्यो । सबैतिर संरचना पुगिसकेको थिएन, तुलनात्मकरूपमा असफल भएको जस्तो देखिएको हो । तर, राम्रै भएको छ ।’

नेकपा एसमा समीक्षा हुने

पाँचदलीय गठबन्धन गरेर पनि दुई दर्जन पालिका प्रमुखसमेत जित्न नसकेको नेकपा एकीकृतले स्थानीय तह निर्वाचनका विषयमा समीक्षा गर्ने भएको छ ।

आगामी १५ गते भित्रै नेकपा एकीकृत समाजवादीले पार्टी भित्र र गठबन्धनका दलहरूबीचमा पनि स्थानीय तह निर्वाचनको परिणामबारे समीक्षा गर्ने जनाएको छ ।

अहिले नेकपा एसको केन्द्रीय कार्यालयले वडास्तरबाटै बुँदागत रूपमा निर्वाचनको अवस्था बारे रिपोर्ट माग गरेको छ ।

‘वडाबाटै प्रतिवेदन मगाएका छौं । पालिकाहुँदै जिल्लाबाट केन्द्रमा आउँछ रिपोर्ट त्यसपछि हामी सल्लाह गर्छाैं’, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमालले भने , ‘यस विषयमा हामी समीक्षा गर्छाै । विभिन्न बुँदाहरूमा रिपोर्ट मागेका छौँ । त्यो आइसकेपछि हामी समीक्षा गर्छाै ।’

उपाध्यक्ष हमालले नेकपा एकीकृत समाजवादी स्थानीय तह निर्वाचनको मत परिणामबाट सन्तुष्ट हुने अवस्थामा नरहेको बताए ।

‘गठबन्धन राष्ट्रिय आवश्यकता थियो । निर्वाचनमा बिषमया पनि तालमेल भएको छ । हामीले अपेक्षा गरेको अनुसार भएन’, उनले भने, ‘त्यसका विभिन्न कारणहरू छन् । त्यो कुरा समीक्षामा हुन्छ । समीक्षा पनि आगामी रणनीति हुन्छ ।’

नेकपा एसकै सचिव तथा प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि परिणाम पार्टीले सोचेअनुसार नआएको स्वीकार गर्छन् । आफ्नो पार्टीले अपेक्षित सफलता हासिल नगर्दा आगामी संसदीय निर्वाचनमा यही तालमेललाई निरन्तरता दिने वा अर्काे तालमेल गर्ने भन्नेबारे अहिले एकीकृत समाजवादीमा बहस सुरु भएको छ ।

यही पाँचदलीय तालमेल नै अगाडि जाने कुरा पनि निश्चित नरहेको उनी बताउँछन् । ‘संघीय निर्वाचनमा कसरी जाने भन्ने कुरा समीक्षापछि थाहा हुन्छ’, उनले भने, ‘अहिले नै यही तालमेल हुन्छ वा नयाँ तालमेल हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’

माओवादीको रणनीति के ?

अघिल्लोपटक संसदीय निर्वाचनमा पार्टी एकताभन्दा पहिले एमालेसँग चुनावी तालमेल गरेर तेस्रो शक्ति भएको माओवादी केन्द्र अहिले पाँचदलीय तालमेल गरेर पनि तेस्रो शक्ति भएको छ ।

स्थानीय तहको निर्वाचनबारे माओवादी केन्द्रले पनि समीक्षापछि मात्रै गठबन्धन सफल वा असफल भएको भन्नेबारे धारणा व्यक्त गर्ने जनाएको छ ।

‘अझै पूरै मतपरिणाम आउन बाँकी छ । सबै परिणाम आएपछि हामी समीक्षा गर्छाै’, माओवादी केन्द्रका नेता देव गुरुङले भने, ‘समीक्षापछि मात्रै आधिकारिक धारणा बाहिर आउँछ ।’

माओवादीका अर्का नेता लीलामणि पोख्रेल भने पहिलेभन्दा माओवादी बलियो भएको बताउँछन् । तर, गठबन्धनका दलहरूबीच तालमेल गर्दा आउनुपर्ने परिणाम आउन नसकेको उनको बुझाइ छ । उनले भने, ‘पहिलेको भन्दा सफलता प्राप्त गरेका छौं । तर, परिणाम त्यति सन्तुष्ट हुन लायक छैन ।’

उनले गठबन्धन गर्दा आउनसक्ने परिणाम नआए पनि आगामी निर्वाचनमा तालमेल परिवर्तन नहुने संकेत गरे । यहीं गठबन्धनलाई अझै व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ । ‘नयाँ गठबन्धनबारे सोच्ने अवस्था आएको छैन’, उनले भने ।

९,जेष्ठ.२०७९,सोमबार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्