उपमेयरमा झण्डै २५ हजार मतले पछि परेका रामेश्वरले गरे पुन: गणनाको माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गरेका छन् । उपप्रमुख पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत संकेतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्‍याएर गर्न मागसहितको श्रेष्ठको निवेदन परेको बताए ।

काठमाडौं महानगरपालिका उपप्रमुख ठूलो संख्यामा मत बदर भएको छ । आइतबार दिउँसोसम्म मात्र उपप्रमुखमा ३६ हजार मत बदर भएको थियो । तीमध्ये ५० प्रतिशत रुख र कलम दुवैमा मत संकेत गरिएका छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार एमालेकी सुनिता डंगोलले ३८३८४ मत ल्याउँदा श्रेष्ठले १३६३६ मत प्राप्त गरेका छन् । दुईजनाबीच को मतान्तर २४७४८ छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले भने गणना विधिवत् ढंगले नै भइरहेको बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिका अनुसार नै मतगणना गरिरहेका छौं । निर्देशिकामा एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत भएको छ भने उम्मेदवार भएको वा नभएको जुनमा संकेत भए पनि बदर गर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार हामीले मत सदर वा बदर गर्दै आएका छौं ।’

यसमा कुनै पनि निर्णय गर्न आवश्यक नरहेको खतिवडाले प्रष्ट्यायो ।

‘निवेदकलाई हामीले मौखिक रूपमा यसमा कुनै पनि निर्णय हुँदैन भनिसकेका छौं । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसमा केही पनि सम्बोधन हुन सक्दैन । उहाँले माग गरेको कुरा निर्देशिकाबाहिरको हो ।’

९,जेष्ठ.२०७९,सोमबार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्