मोरङका १७ वटै स्थानीय तहको प्रतिनिधिले गरे शपथग्रहण

विराटनगर । स्थानीय तहमा निर्वाचित मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले शपथग्रहण गरेका छन् ।

विराटनगर महानगरपालिकाको सभा हलमा १७ वटै पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका हुन् ।

उनीहरूलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालले शपथग्रहण गराए ।

शपथ ग्रहणका क्रममा लम्सालले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायसङ्गत ढङ्गले सेवा प्रवाह गर्न सुझाव दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । पार्टीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरू लागिपर्ने उनले बताए ।

शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हाल्ने छन् ।

९,जेष्ठ.२०७९,सोमबार १५:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्