एनएचसीएलमार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं । एनएचसीएलमार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनी आवद्ध भएका हुन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेकक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक लि, नेपाल फाइनान्स लि, समृद्धि फाइनान्स तथा श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स उक्त प्रणालीमा थपिएका हुन् ।

यसअघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तीय संस्थामध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका छन् ।

आरटीजीएस प्रणालीमार्फत् २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणालीमार्फत ४३.४ खर्ब रुपैयाँ बराबरको ६५,३७६ भुक्तानी कारोबारहरु फर्छ्योट भइसकेको छ ।

१०,जेष्ठ.२०७९,मंगलवार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्