माधव नेपाल रौतहटबाट चुनाव लड्ने, गृहजिल्लामा नेकपा एसको सानदार जित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि चुनाव लड्न आफ्नै गृहजिल्ला रौतहट फर्किने भएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका थिए ।

अध्यक्ष नेपाल अब आफ्नै जन्मथलो गौरबाटै चुनाव लड्ने भएका छन् । नेपाल गौर नगरपालिका वडा नम्बर २ का मतदातासमेत हुन् । उनले मतदान गरेको नगरपालिकामा नेकपा एसले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

मेयर शम्भु साहले पनि पार्टी अध्यक्ष नेपाल रौतहट १ बाट चुनाव लड्दा पार्टीले सहजै जित्ने दावी गरेका छन् । गौरमा होइन नेपालकै निर्वाचन क्षेत्रमा रहेको बौधीमाई नगरपालिकामा पनि नेकपा एसले जितेको छ ।

सोही क्षेत्रमा पर्ने अन्य दुई पालिकामध्ये दुर्गाभगवती गाउँपालिका माओवादी केन्द्रले जितेको छ भने यमुनामाई गाउँपालिका लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ ।

जिल्लामा माधव नेपाल नेतृत्वको नेकपा एसले अहिलेसम्म चारवटा पालिका जितेको छ भने अर्को एउटामा प्रतिस्पर्धा छ । नेकपा एसले गौर र बौधिमाईसहित राजदेवी र बृन्दावन नगरपालिकामा जित निकालिसकेको छ । गरुडा नगरपालिकामा नेकपा एमालेसँग प्रतिस्पर्धा भइरहेको छ ।

रौतहटमा चार पालिका जितेर नेकपा एसले देशभरमै सबैभन्दा राम्रो नतिजा दिएकाले अध्यक्ष नेपाल रौतहटबाटै चुनाव लड्ने सो पार्टीका नेताहरुले बताएका छन् । काठमाडौंको मतको भर नहुने र गठबन्धन गर्दा पनि ठेगान नहुने भएकाले रौतहट नेपालका लागि सुरक्षित ठानिएको छ ।

काठमाडौंमा माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा, शंखरापुर, महानगरपालिकाका ९ र ३२ वडामा कतै पनि नेकपा एसले जित निकाल्न सकेको छैन ।

रौतहटबाट चुनाव लड्न कांग्रेस, माओवादी र जसपाको समेत गठबन्धनको सहयोगले नेपाललाई जित्न सहज हुने नेकपा एसको ठम्याइ छ । नेपाल रौतहटबाट चुनाव लडेको अवस्थामा नेकपा एसले गठबन्धनमा काठमाडौं ५, ७ र ८ नम्बर क्षेत्र दावी गर्ने तयारी छ ।

काठमाडाैं ८ नम्बरमा जीवनराम श्रेष्ठ अहिले पनि नेकपा एसका सांसद छन् । ७ नम्बरमा बागमती प्रदेशका मन्त्री वसन्त मानन्धरलाई नेकपा एसले गठबन्धनबाट उम्मेदवार बनाउन चाहेको छ भने काठमाडौं ५ मा नेकपा एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले चुनाव लड्ने गरी तयारी गरिरहेका छन् ।

१०,जेष्ठ.२०७९,मंगलवार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्