छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्व प्रसाद रेग्मी रहेका छन् । उनको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१० आमखैयास्थित सडकमा ना.५ ख ८६९१ नम्बरको बस सोमबार दुर्घटना हुँदा बसका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्किचुहा नगरपालिका–२ बस्ने २० वर्षीय पारस खत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ३ जनाको घोडाघोडी अस्पताल सुखडमा र एक जनाको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका–७ खानीगाउँस्थित सडकमा बा.५ ख ३११७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर बिक रहेका छन् । उनको सोमबार घटनास्थलमै मृत्यु भएको हो ।

सिरहाको गोलबजार नगरपालिका–६ लभटोलीस्थित भित्री सडकमा प्र.२–०१–००१ त ०६७५ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १६ वर्षीय रामरिजन सदाय रहेका छन् । उनको सोमबार मृत्यु भएको हो ।

१०,जेष्ठ.२०७९,मंगलवार १६:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्