निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि उनी विवादमा तानिएका छन् ।

मेयर साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरे । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि अब कांग्रेसमै रहने साहले बताउन थालेका छन् ।

१२,जेष्ठ.२०७९,बिहीबार १५:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्