पत्रकार महासंघका करिब २ सय जनाको सदस्यता खारेज

कैलाली । नेपाल पत्रकार महासंघले देशभरका करिब २ सय सदस्यको सदस्यता खारेज गरेको छ ।

आइतबार काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुने वैधानिक व्यवस्था अनुसार उनीहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

महासचिव रोसन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा विधानको व्यवस्थाअनुसार गर्न केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिब २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित भएको उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृतसमेत गरेको छ ।

१६,जेष्ठ.२०७९,सोमबार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्