प्रेस काउन्सिलका पूर्वअध्यक्ष दाहालकाे ठहर: पत्रकारिता क्षेत्रले परिवर्तन खोजेको छ

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताएका छन् । मिडियामा लगानीकर्ताहरुको प्रभाव पर्नसक्नेतर्फ संकेत गर्दै उनले त्यसबाट जोगिने चुनौती पनि रहेको बताएका छन् ।

‘१९९०को दशकपछि विकास पत्रकारिताको कुरा सुरुवात भयो, त्यसपछि क्रमशः बिट पत्रकारिताको विकास हुँदै गयो, शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै हामी यहाँसम्म आएका छौं’ दाहालले भने, ‘अवको समयमा कन्स्ट्रक्टिभ जर्नलिज्मको नाममा पत्रकारितामा आवश्यक ठानिन थालिएको परिवर्तनलाई अगाडि बढाउन सकिन्छ ।’

अप्टिमिस्ट इन्टरनेशनल नेपालले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै दाहालले पत्रकारिता क्षेत्रले निमुखाको आवाज बोलिरहेको छ कि स्वार्थ समूहको ? भन्ने सवाल उठ्ने गरेकाले त्यसको समीक्षा हुनपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आवश्यकता भएको बताए ।

त्यसैगरी वरिष्ट पत्रकार बबिता बस्नेत र प्रकाश रिमालले कन्स्ट्रक्टिभ जर्नलिज्ममार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने दायित्व पत्रकारले बहन गर्नुपर्नेमा जोड दिए । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्फेवाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन् ।

अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो ।

१८,जेष्ठ.२०७९,बुधबार ०९:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्