स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपरौं, माओवादीजस्ताे कुरा गरेर बालेन र हर्कले भोट ल्याए : प्रचण्ड

‘माओवादीको जस्तै कुरा गरेकाले धरान र काठमाडौंमा जनताले स्वतन्त्रलाई भोट दिए’

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले अहिले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार दिएर जितेकाहरू अपवाद भएको बताए ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएको हुन् । उनले काठमाडौं र धरानका स्वतन्त्र अलि फरक देखिएको, उनीहरूबाहेक अरु कोहीपनि स्वतन्त्र नभएको टिप्पणी गरे । काठमाडौं र धरानका स्वतन्त्रहरूले माओवादीको जस्तै कुरा गरेकाले जनताले भोट दिएको उनले बताए ।

‘दुईवटा मान्छे अलि भिन्न ढंगले आए । अरु कोही स्वतन्त्र ठानेको छैन मेले । उनीहरूले चाहिँ माओवादीको जस्तो कुरा गरेका छन् । त्यसैले उनीहरूलाई जनताले मत दिएको हो,’ प्रचण्डले भने ।

उनले अहिले जितेका स्वतन्त्रहरू पनि कुनै न कुनै रूपमा पार्टीसँग समन्वय गरेर मात्रै अगाडि बढ्न सक्ने टिप्पणी गरे ।

‘अब पार्टी सिस्टम कमजोर हुने र स्वतन्त्रको राज्य चल्ने होइन । यिनीहरू अपवाद हुन् । बिग्रे पनि सप्रे पनि अबका धेरै दशकसम्म पार्टीहरूले नै राज गर्नेछन्,’ उनले भने ।

१८,जेष्ठ.२०७९,बुधबार १६:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्