श्रीमतीलाई औषधि किन्न हिँडेका पुरुष इनारमा मृत भेटिए

जनकपुरधाम । बिरामी परेकी श्रीमतीका लागि औषधि किन्न बजार हिँडेका एक पुरुषको शव आज बिहान इनारभित्र फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका- २ टुड्कीयाका बिष्णुदेव साहको शब आज इनारमा फेला परेको हो । उनी मंगलबार अपरान्ह औषधिका लागि साइकल लिएर बजारतर्फ हिँडेका थिए ।

प्रहरीका अनुसार साह साइकलसहित इनारमा फेला परेका हुन् । स्थानीयले दिएको जानकारी अनुसार त्यहाँ पुगेर शव इनारबाट निकाल्ने क्रममा साइकल पनि त्यसमै फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

‘शव निकालेर मुचुल्का बनाउने काम भइरहेको छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘अब पोष्टमार्टमका लागि शव अस्पताल पुर्याउँछौं ।’ उनले घटना शंकास्पद देखिएको भन्दै अनुसन्धान भइरहेको बताए ।

इनारमा खसेर उनको मृत्यु नभएको र कसैले हत्या गरी त्यसमा फालेको हुनसक्ने स्थानीयको भनाई छ । मृतकका श्रीमती शिवोदेवीले बाटो बनाउने विषयमा गाउँमा झगडा भएको थियो र उनीहरुले नै मारेको हुनसक्ने आशंका व्यक्त गरेकी छन् ।

साह एक महिना अगाडी मात्र वैदेशिक रोजगारबाट घर फर्केका थिए ।

१९,जेष्ठ.२०७९,बिहीबार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्