एआईजी सिफारिसविरुद्धको रिटमा वरिष्ठ अधिवक्ता उप्रेतीले भने- बढुवा समितिले दिने अंक गायत्री मन्त्र होइन

काठमाडौं । एआईजी सिफारिस र आईजीपी बढुवाविरुद्ध परेका रिटहरुको अन्तिम सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले बढुवा समितिले दिने अंक गायत्री मन्त्रजस्तो हुने गरेको बताएका छन् ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको बहसमा निवेदक तत्कालीन डीआईजीहरुको तर्फबाट बहस गर्दै उप्रेतीले भने, ‘प्रहरीको बढुवामा अन्य सबै अंक दिने आधार वैज्ञानिक र वस्तुगत हुने तर बढुवा समितिले दिने अंक गायत्री मन्त्रजस्तो हुने गरेको छ। के हो के हो जस्तो ।’

सरकारले बढुवा समितिले दिने साढे ७ अंककै आधारमा राम्रालाई समेत पछि पार्ने गरेको उनको आरोप थियो । ‘अन्य कुरामा राम्रो अंक दिने अनि के आधारमा बढुवा समितिले कम अंक दिने ? बढुवा समितिले दिने अंक पनि वैज्ञानिक र वस्तुगत आधारमा हुनुपर्छ’, तत्कालीन डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीको तर्फबाट बहस गर्दै उप्रेतील‍े भने ।

सरकारले गत चैतमा कनिष्ट डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र बसन्त पन्तलाई एआईजी बनाएको थियो । एआईजी बनेको एक महिनामै सिंह आईजीपी बनेका थिए ।

३०,जेष्ठ.२०७९,सोमबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्