‘कुमारी आमा’ निहारिकाका पक्षमा संसदमा उठ्यो आवाज

काठमाडौं । बलात्कारबाट जन्मिएको दूधे बालक च्यापेर राजधानीमा न्यायको माग गर्दै अनशन बसेकी ‘कुमारी आमा’ निहारिका राजपुतका पक्षमा प्रतिनिधिसभामा आवाज उठेको छ ।

नेकपा एमालेकी सांसद थममाया थापाले आजको प्रतिनिधिसभा बैठकमा यो विषयमा आजाव उठाएकी हुन् ।

सांसद थापाले भनिन्, ‘राजधानी एउटी नेपाली चेली काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । जुन राज्यका लागि लाजमर्दो घटना भएका छन् ।’

महोत्तरीकी निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरमा शिवराम श्रेष्ठ नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको बताउँदै आएकी छन् । सोही गर्भबाट जन्मेको बालक अहिले २१ महिना पुगेको छ ।

‘यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन्,’ प्रतिनिधिसभा बैठकमा सांसद थापाले भनिन्,‘अदालतले समेत न्याय दिन सकेन । बाध्य भएर पाँचबुँदे माग राखेर अनशनमा छिन् ।’

पीडित निहारिकाको माग यथाशीघ्र सम्बोधन गर्दै न्याय दिन सांसद थापाले सरकारसँग माग गरिन् । निहारिका ६ दिनदेखि माइतीघरमा अनशनमा बसेकी छन् ।

१,असार.२०७९,बुधबार १२:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्