चार मन्त्रीको पीए बनेका भिमकान्त, सांसद बन्ने सपना अकुत सम्पत्तिले उडायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड रुपैयाभन्दा बढी स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ३० वर्षीय भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी चर्चामा छन् ।

नायव सुब्बा सरहको जागिर छाडेर २ वर्षअघि बिथ ल्याबमार्फत व्यवसायमा लागेका भण्डारीले यति छोटो अवधिमा अकुत सम्पत्ति कसरी आर्जन गरे ? अख्तियार अझै छानविनमै छ,तर उनले स्रोत खुलाउन नसकेको सम्पत्ति प्रभावशाली नेताहरुको हुनसक्ने आशंका गरिएको छ ।

३० वर्षीय भण्डारी ६ वर्षअघि अर्थात २०७३ असोजमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्रमा वरिष्ठ व्यवस्थापन सहायकका रुपमा नियुक्त भएका थिए । उनले २०७७ साउन १ गते सो पदबाट राजीनामा दिएको देखिन्छ ।

ग्रामीण विकास प्रशिक्षण केन्द्रमा रहेकै बेला उनी माओवादी नेता हितराज पाण्डे स्थानीय विकास मन्त्री हुँदा काजमा झापाबाट मन्त्रालयमा आएका थिए । माओवादी वृत्तमा उनको अस्वभाविक विकास र पहुँच बढ्दै गयो ।

पाण्डेलाई तत्कालीन कांग्रेस माओवादी गठबन्धनको भागबण्डा मिलाउन स्थानीय विकासबाट पशुपन्छी मन्त्रालयमा सरुवा गरिएपछि उनले राजीनामा दिए । पाण्डे सरकारबाट बाहिरिए पनि भण्डारी बाहिरिएनन् । उनी काजमा ग्रामीण विकास प्रशिक्षण केन्द्रमा फर्किनुपर्नेमा अर्को मन्त्रालयमा पुगे ।

माओवादी नेतृ आशा कोइराला महिला बालबालिका तथा समाजकल्याणमन्त्री भएका बेला सोही मन्त्रालयमा काजमा गए । कोइरालापछि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनी अर्थमै काजमा सरुवा भए भने परराष्ट्रमन्त्री हुँदा पनि त्यहिँ रहे ।

पनि तत्कालाीन नेकपाको सरकारका बेला वर्षमान पुन ऊर्जामन्त्री भएको केही समयपछि भण्डारी ऊर्जामै पुगे । उनले ऊर्जामन्त्रालयमा काजमा रहेकै बेला राजीनामा दिए ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६,साबिकको अर्जै गाविसका भण्डारी सामान्य परिवारका युवा हुन् । उनी शहर पसेपछि माओवादी सम्पर्कमा गए । उतैबाट जागिरे भए र हेर्दा हेर्दै करोडौंको कारोबारी भएपछि गाउँमा उनको चर्चा चल्न थाल्यो ।

दुई तीनवटा हाइड्रोपावर,बिध ल्याब,माडीमा खानी उद्योग र आइटी कम्पनी समेत चलाएको कुरा गाउँमा चलेसँगै उनी माओवादी नेताको रुपमा गुल्मीमा आउजाउ गर्न थाले । माओवादीका गाउँ अधिवेशनहरुमा पूर्व मुख्यसचिव लिलामणी पौडेल र भिमकान्त यसपटक नयाँ र चर्चित पात्र थिए ।

मालिका गाउँपालिकामा गठबन्धनलाई जिताउन ठूलो धनराशी खर्च गरेका भिमकान्त जिल्लाका अरु पालिकामा समेत खटिए । उनलाई आउने निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट माओवादी उम्मेदवारका रुपमा समेत चर्चामा ल्याइयो ।

लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका माओवादी नेता सुदर्शन बराल,जिल्ला नेता बुद्धि जिसी लगायतको गाँस बास कपासको व्यवस्था समेत आफूले गर्ने भएकाले टिकटको चिन्ता नरहेको भण्डारी बताउँथे । केन्द्रमा महरा, वर्षमान पुन लगायतका नेताहरु भएकाले टिकटको उनलाई चिन्ता थिएन । पछिल्लो समय उनी मल आयातको व्यवसायमा समेत थिए ।

भिमकान्तले यति छोटो अवधिमा करोडौं कसरी कमाए भन्ने प्रश्न धेरैले गरिरहेका थिए । अचानक अख्तियारले उनीमाथि अकुत सम्पत्तिको मुद्दा दर्ता गरेपछि यहाँ खैलाबैला मच्चिएको छ । उनले मुख खोले भने धेरै नेता अप्ठेरोमा पर्ने चर्चा जिल्लामा छ ।

४,असार.२०७९,शनिबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्