प्रदेश १ का मुख्यमन्त्री राईको गुनासो- केन्द्रले अधिकार नदिएर प्रदेशलाई उपेक्षा गरेको छ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम चालू बजेट अधिवेशनबाटै टुंगिने दाबी गरेका छन् । उनले नामको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलभित्रै एक मत नभएकाले भोटिङको प्रक्रियाबाट भए पनि नामको टुंगो लगाइने बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी मोरङको आयोजनामा शनिबार विराटनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘सबैभन्दा ठूलो दल एमाले पनि नाम टुंग्याउने विषयमा अग्रसर देखिएको छ । यसको अगुवाइ सरकाले लिएको छ । सके सहमतिबाट, नभए भोटिङ सिस्टमबाट भए पनि नामकरणको विषय टुंगिनेछ । त्यसलाई सबैले स्वीकारेर जानुपर्छ ।’

उनले आगामी आर्थिक वर्ष मुख्यमन्त्री, मन्त्री र जिल्लास्थित कार्यालय निर्माणको कार्य अघि बढाइने पनि बताए । उनले भवन निर्माणका लागि बजेट विनियोजन गरिएको र विराटनगरमा मुख्यमन्त्री कार्यालय निर्माण हुने जानकारी दिए।

मुख्यमन्त्री राईले केन्द्र सरकारले प्रदेश सरकारलाई उपेक्षा गरेको गुनासो गरे । उनले आर्थिक अधिकारदेखि कार्य क्षेत्रमा प्रदेशलाई कमजोर बनाउने काम भएको गुनासो गरेका हुन् ।

पूँजीविनाको अर्थ मन्त्रालय, पुलिस र कर्मचारीविनाको प्रदेश सरकार छ अहिले’, उनले भने, ‘मुख्यसचिवदेखि सचिवसम्मको खटनपटन केन्द्रबाटै हुन्छ । केन्द्रले अधिकार नदिएर प्रदेशलाई उपेक्षा गरेको छ ।’

४,असार.२०७९,शनिबार १७:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्