गोदावरी नगरपालिकामा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पहिलो पटक स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना गरेको छ ।

नगर स्तरीय रोभर रेन्जर क्याम्प विशंखुनारायण मावि प्रांगणमा तीन दिनसम्म चल्ने छ । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी छन् ।

शनिबार कार्यक्रमको उदघाटन गर्दै नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रोभर रेन्जर क्याम्पले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने बताए । ‘स्काउटले नैतिकता सिकाउँछ, संयमता र उद्दार कार्यमा जुट्न सिकाउँछ,’ उनले भने, ‘अब निकट भविष्यमा यसका लागि बजेटको पनि व्यवस्था गर्ने छौं ।’

उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् ।

स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दीपक अर्यालले जानकारी दिए ।

क्याम्पमा सहभागीहरुलाई सशस्त्र प्रहरीले विपद व्यवस्थापन, नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत लागुऔषध र साइबर सम्बन्धी तालिम र पत्रकार भवानी बरालले नैतिक शिक्षा र स्काउटको बारेमा प्रशिक्षण दिएका थिए ।

स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो । हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ ।

५,असार.२०७९,आईतवार ०९:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्