लगातार तेस्रो जित हात पार्दै नेपाल एसीसी महिला टी-२० को सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको बहराइनले ७ ओभरमा घटाइएको खेलमा नेपाललाई १५ रनको लक्ष्य दिएको थियो ।

नेपालले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको पालीमा सीता रानामगरले चार रन बनाइन् भने कविता जोशी २ रनमा अविजित रहिन् । ८ रन अतिरिक्त पाएको हो । इन्दु बर्माले भने खाता खोल्न सकिनन् ।

त्यसअघि बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । बहराइनको पालीमा इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका कविता कुँवर र सबनम राईले दुई-दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।

समूह बीमा तीन खेलबाट ६ अंक भएको नेपाल तालिकाको शीर्षस्थानमा छ । अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।

६,असार.२०७९,सोमबार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्