एन्फा अध्यक्ष नेम्वाङ भन्छन्, ‘पराजितलाई समेट्छु, बिग्रेका सम्बध सुधार्छु’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पराजित भएको शेर्पा पक्षलाई पनि समेटेर अघि बढ्ने बताएका छन् ।

सोमबार भएको साधारण सभाबाट अध्यक्षमा विजयी भएपछि नेम्वाङले भने, ‘उहाँहरु पराजित हुनुभएको छैन । उपविजेता हुनुभएको छ । नेपाली फुटबलको विकासको निम्ति उहाँहरुको सुझाव हामी सधैं अपेक्षा गर्छौं । सही सुझावलाई लिएर अघि बढ्छौं ।’

उनले खेलाडी–प्रशिक्षकबीचको विवादबारे पहिलो बैठकबाटै निर्णय गर्ने र एन्फासँग बिग्रेका सबै सबन्धहरु सुधार्नेसमेत बताए । एन्फामा भएको भनिएको अनियमितताबारे श्वेतपत्र जारी गर्ने पनि उनले बताए ।

नेम्वाङ ४५ मत पाउँदै अध्यक्षमा निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत पाएका थिए । एन्फामा १९ केन्द्रीय सदस्यहरुमध्ये नवनिर्वाचित अध्यक्ष नेम्वाङको प्यानलबाट १२ जना र शेर्पाको प्यानलबाट ७ जना छन् । चार जनाले बराबर भोट ल्याएका छन् । ती चार जनामध्ये तीन जना कर्मा प्यानलका छन् । बराबर मत पाएकाहरूमध्येबाट दुई जना केन्द्रीय सदस्यको टुंगो अर्को साधारण सभाबाट मात्र लगाउने एन्फाले जनाएको छ ।

अध्यक्षमा विजयी भएपछि नेम्वाङले दिएको प्रतिक्रिया यस्तो थियो-

तत्कालको योजना

एन्फा र जिल्ला, एन्फा र क्लब तथा एन्फा र खेलाडीबीचको सम्बन्ध राम्रो छैन । फिफा र एएफसीसँगको सम्बन्ध अगाडि लानुपर्छ । सबै बिग्रेको सम्बन्धलाई एउटा माला बनाएर, एकजुट गरेर, सम्बन्ध सुमधुर गरेर मिलाएर अघि लानुपर्छ ।

खेलाडी र प्रशिक्षकबीचको विवाद

खेलाडी र प्रशिक्षकको विवादको पहिलो बैठकबाट हामी निर्णय गर्छौं । छानविनको समितिको प्रतिवेदन छ । त्यसमा बृहत छलफल गर्छौं । हामी सबैसँग छलफल गरेर त्यो समस्या समाधान गर्छौं ।

आर्थिक अनियमिताबारे

हामी श्वेतपत्र जारी गर्छौं । चार वर्षे कार्यकालमा आर्थिकदेखि, प्रशासनिकदेखि लिएर के कति कमजोरी रह्यो त्यसको एउटा समिति बनाएर स्पष्ट रुपमा नेपाली सामु ल्याउँछौं र अघि बढ्छौं ।

चुनौती

चुनौतीहरु अहिले यो कार्यसमितिमै यो साधारण सभामै हामीले अडिट रिपोर्ट पेश गर्न सकेनौं । अब थुप्रै दायित्वहरु हामीमा छ । त्यो दायित्वहरु हामीले क्रमशः पूरा गर्दै जान्छौं ।

अहिले प्रमुख कुरा भनेको फिफा र एएफसीसँग सम्बन्धित छ । अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिवन्ध जस्तै अवस्था छ । त्यसलाई फिफासँग कुराकानी गरेर हामी समाधान गर्न लाग्छौं । एएफसीसँगको सम्बन्ध अगाडि लानुपर्छ ।

एन्फामा भएको विवाद

विवाद भएको थिएन । यसलाई हामीले सही सुझाव दिइराथ्यौं । नेतृत्वले त्यसलाई नलिँदा हामीले नोट अफ डिसेन्ट लेखेका थियौं । आवाज उठाइराथ्यौं । संस्थाप्रति सही सुझाव दिएका मात्र हौं । यसलाई अतिरन्जित तरिकाले विवाद खडा ग¥यो भनेर आएको हो । हामीले कहिल्यै विवाद खडा गरेनौं । संस्थाका लागि सही सुझाव दिएका हौं ।

मैदानमा लक्ष्य

हामीले पहिलेदेखि भनेका छौं हाम्रो कार्यकालमा साफ च्याम्पियनसिप जित्छौं भनेर । ग्रासरुट, युथ, महिलाको कार्यक्रम हुन्छ ती सबै गर्छौं । लिग राम्रो गर्छौं । राष्ट्रिय लिग सुरु गर्छौं ।

एनएसएल

एनएसल तपाईंहरुलाई थाहा छ । केही क्लबहरुको आफ्नो रिजर्भेसन छ, आफ्नो माग छ । एन्फा र एनएसएलको जुन सम्झौता भइराछ केहीमा क्लबको ध्यानाकर्षण भइराछ । हाम्रो पनि ध्यानाकर्षण भइराछ । त्यो कुराहरुलाई सबै पक्षहरुसँग छलफल गरेर समाधान निकाल्छौं ।

महिला फुटबल एकेडेमी

रौतहटमा महिला फुटबल एकेडेमी सञ्चालन गर्न सकेका छैनौं । त्यसबारे तुरुन्त नयाँ कार्यसमितिले निर्णय गरेर यसलाई सञ्चालन गर्न अघि बढ्छौं ।

७,असार.२०७९,मंगलवार ०७:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्