आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् ।

मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ ।

द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् ।

उनी मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् । मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपाल थिइन् ।

भारतमा हाल रामनाथ कोविन्द राष्ट्रपति छन् । उनको कार्यकाल आगामी जुलाई २४ मा सकिंदै छ । संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै नयाँ राष्ट्रपति चुन्नु पर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको छ । २१ जुलाईमा नतिजा आउने छ ।

भाजपाले राष्ट्रपति चुनावका लागि १४ सदस्यीय म्यानेजमेन्ट कमिटी गठन गरेको थियो । सो कमिटीको संयोजक केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावत थिए ।

८,असार.२०७९,बुधबार ०८:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्