दरबारमार्गमा विश्व बैंकको क्षेत्रीय कार्यालय उद्घाटन, नेपालसँगै माल्दिभ्स र श्रीलंका पनि हेर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुनर्निर्माण भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालय उद्घाटन गरेका छन् ।

उद्घाटनपश्चात् यस कार्यालयमा श्रीलंकास्थित उपक्षेत्रीय कार्यालय विधिवत रुपमा नेपालमा सरेको छ । अब यस कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुने विश्व बैंकले जनाएको छ ।

नयाँ क्षेत्रीय कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहिआएको बताए ।

सन् १९६९ मा विश्व बैंकबाट पहिलोपटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनामा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । ‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदानप्रदान गर्छ । विश्व बैंक अनुभवी र विषयविज्ञले भरिएको संस्थाका रुपमा चिनिँदै आएको छ’, उनले भने ।

८,असार.२०७९,बुधबार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्