लागुऔषध दुर्व्यसनीलाई औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चारजना पक्राउ

काठमाडौं । लागुऔषध दुर्व्यसनमा परेकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ परेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्ने अन्यमा नुवाकोट ककनी गाउँपालिका-१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार छन् ।

गंगाजमुना फार्मेसीमा बिनाइजाजत अवैधरूपमा औषधिहरू वेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल बरामद गरिएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

८,असार.२०७९,बुधबार १३:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्