करसम्बन्धी निर्णय एमालेतिर तेर्स्याएपछि तिलोत्तमाको कार्यपालिका बैठक अवरुद्ध

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय भएको थियो । मेयर रामकृष्ण खाणले करको दर घटाउने विषयलाई चुनावी एजेण्डा बनाएका थिए । कांग्रेसले कर घटाउने आफूहरूको प्रस्तावमा एमालेले बहुमतको आडमा अस्वीकार गरेको आरोप लगाएपछि नगरसभा स्थगित भएको हो ।

‘सिंगो कार्यपालिकाले गरेको निर्णयलाई लिएर कुनै पार्टी विशेषलाई आरोप लगाउन मिल्दैन, यसको नगरपालिकाले स्पष्ट नपारेसम्म र गल्ती नसच्याएसम्म नगरसभा अघि बढ्न सक्दैन’, कार्यपालिकाका एक सदस्यले भने ।

कांग्रेस नेतासमेत रहेका रोमणिप्रसाद पाठकले तीन दिनअघि फेसबुकमा केही करको दायरा घटाउने कांग्रेसको प्रस्ताव एमालेले अस्वीकृत गरेको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।

कार्यपालिकाले गरेको निर्णय एमालेविरुद्ध प्रयोग गरिएको भन्दै एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले विरोध गरेपछि तीन दिनदेखि कार्यपालिका बैठक अवरुद्ध हुँदै आएको छ । त्यसपछि आजका लागि तय गरिएको नगरसभा पनि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

एमालेका जनप्रतिनिधिले नगरपालिकाले संस्थागतरूपमै गल्ती सच्याउनुपर्ने अडान राखेका छन् । गाउँसभा र नगरसभाको कार्यसञ्चालन गर्न बनेको विधेयक २०७५ को परिच्छेद २ को खण्ड ५ मा बैठकमा सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन भन्ने उल्लेख छ । तिलोत्तमा नगरसभा र कार्यपालिकामा एमालेको बहुमत छ ।

संविधानअनुसार स्थानीय तहले १० असारभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । तर, नगरसभा अवरुद्ध भएपछि नीति कार्यक्रम प्रस्तुत गर्ने समय नै पछाडि धकेलिएको छ । यसबाट बजेटसमेत अनिश्चित बनेको छ ।

८,असार.२०७९,बुधबार १५:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्