फेरि जातीय विभेद : भक्तपुर प्रहरीले पीडितको जाहेरी दर्ता गरेन

नेपाली जनता

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ । छोराछोरी पढाउन गाउँदेखि काठमाडौं आएकी ओखलढुंगाकी मुना दयाल भनिने सम्झना विश्वकर्माले आफूमाथि घर भाडामा लिने क्रममा जातीय भेदभाव र अपमान भएको भन्दै बुधबार प्रहरीकोमा जाहेरी लिएर पुगेकी थिइन् । तर, फौजदारी र सरकारवादी हुने सो मुद्दामा प्रहरीले पीडितको जाहेरी लिनै अस्वीकार गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४, मूलपानीकी कविता रायमाझीको घरमा कोठा भाडामा लिएर बस्न लागेकी विश्वकर्मालाई रायमाझी परिवारले उनी दलित भएको थाहा पाएपछि घरमा डेरा बस्न नमिल्ने बताएका थिए । त्यसपछि विश्वकर्माले आफूमाथि जातीय भेदभाव र छुवाछुत कसुर भएको जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले जाहेरी लिन नमानेको र पीडकका कुरा सुनेपछि मात्रै जाहेरी लिने भनेर फर्काएको पीडित विश्वकर्माले बताइन् ।

‘म माथि कोठा सर्ने क्रममा जातीय भेदभाव भएको छ । त्यही कुरा उल्लेख गरेर मैले जाहेरी लिएर गएकी हुँ,’ उनले भनिन्, ‘तर सरकारवादी हुने यो मुद्दामा प्रहरीले जाहेरी नै लिन मानेन । यसबाट प्रहरीको यो मुद्दाप्रतिको संवेदनशीलता प्रष्ट हुन्छ । जाहेरी नै नलिने प्रहरीले मलाई न्याय दिलाई दिन्छ भनेर मैले कसरी विश्वास गर्ने ?’

विश्वकर्माजस्तै पीडितले जातीय भेदभाव र छुवाछुत कसुरमा प्रहरीले जाहेरी नै नलिएको भन्ने गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले गएको कात्तिक ८ मा नेपाल प्रहरीलाई दलित सेल गठन गर्न निर्देशन दिएका थिए । त्यसअघि संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले २० जेठ, ०७७ मै सरकार र नेपाल प्रहरीका अधिकारीलाई बोलाएर दलित सेल स्थापना गर्न निर्देशन दिएको थियो । तर, प्रहरीले अहिलेसम्म त्यस्तो दलितमैत्री सेल गठन गरेको छैन ।

पीडितसँगै जाहेरी दर्ताका लागि प्रहरी परिसर पुगेकी अधिवक्ता यमकुमारी ददेलले प्रहरीले दलितहरूले भोग्दै आएको अपमानको संवेदनशीलता नबुझ्दा मुद्दा दर्ता नगरेको बताइन् । ‘प्रहरी नै जात व्यवस्थाको धङधङीबाट बाहिर आउन सकेको छैन । कानुन बनेपनि त्यसको कार्यान्वयन गर्ने प्रहरी दलित समुदायमैत्री छैन,’ उनले भनिन्, ‘त्यहीकारण भक्तपुरमा पनि प्रहरीले जातीय भेदभाव कसुरको मुद्दामा जाहेरी लिएन । कानुनी प्रक्रियाअनुसार मुद्दालाई अघि बढाउनुस् भनेर आग्रह गर्दा पनि प्रहरीले जाहेरी लिन मानेन ।’

यो पनि पढ्नुहोस  युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र

प्रहरीले प्रक्रियाअनुसार जाहेरी दर्ता गर्न नमानेपछि पीडित सम्झनाले ठाडो निवेदन दिएर फर्किएकी छिन् । प्रहरीले निवेदनका आधारमा पीडकलाई बोलाउने र दुवै पक्षको कुरा सुनेपछि मिलापत्र नभएमात्रै मुद्दाको प्रक्रिया अघि बढाउने भनेको छ । जबकि फौजदारी मुद्दामा पीडितले उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने हो ।

‘कानुनले जातीय भेदभावको मुद्दालाई फौजदारी कसुरमा सूचीकरण गरेको छ । तर, यहाँ प्रहरीले यसलाई सामान्य झैझगडाको मुद्दाको रुपमा लिएर मिलापत्र गराउनुपर्नेझैँ ठानेको देखिन्छ,’ अधिवक्ता ददेलले भनिन्, ‘प्रहरी पीडितलाई तर्साउने, पीडकलाई बोलाउने र मिलापत्र गराउने बाटोमा अघि बढेको छ । यो परम्परागत प्रवृत्ति हो । यसले प्रहरीको नियतमा खोट प्रष्ट हुन्छ ।’

यता प्रहरीले भने जाहेरी दर्ताकै लागि अस्वीकार नगरेको दाबी गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले प्रहरीले दुवै पक्षका कुरा सुनेपछि मात्रै मुद्दालाई अघि बढाउन चाहेको बताए ।

‘यो भावनात्मक कुरा हो । यसका अरु प्रमाणहरू हुँदैनन् । हामीले साँच्चै अवस्था के हो भनेर बुझ्न खोजेका हौँ,’ उनले भने, ‘यदि उहाँले भनेजस्तै अवस्था हो भने हामीले आनाकानी गर्ने कुरा छैन । हामी जातीय भेदभाव तथा छुवाछुत कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अघि बढाउँछौँ ।’

उनले आरोपितहरूसँग त्यसबारे थप बुझ्ने काम भइरहेको र त्यसपछि दुवै पक्षलाई झिकाएर छलफल गर्ने बताए ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि प्रहरीकै दबाबमा पीडितले प्रहरीमा दिएको निवेदन ।

९,असार.२०७९,बिहीबार १०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: