कर्णालीमा पशुपन्छी निर्देशनालयले गैरव्यवसायीलाई तालिम दिएकोप्रति एमालेको विरोध

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा पशुपन्छी निर्देशनालयले गैरव्यवसायीलाई तालिम दिएको विषय उठेको छ ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले आजको बैठकमा निर्देशनालयले गैरकानूनी रूपमा तालिम चलाएको आरोप लगाए । भेरीगंगामा लामो समय एग्रोभेट सञ्चालन गरेका एकजनाको कोभिडका कारण मृत्यु भएकोमा उनकी पत्नीको ठाउँमा अरुलाई नै सहभागी गराउनु गलत भएको उनले बताए ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि सदनमा पेस गरेको राजश्व एवम व्यय सम्बन्धीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता कंडेलले कृषि क्षेत्रको विकास र समृद्धिका निम्ति सम्बन्धित व्यवसायीलाई प्रबर्द्धन गर्नुपर्ने बताए ।

‘कृषिसम्बन्धी औषधि, किटनाशक बिक्री गर्ने कर्णालीमा पाँचजना मात्र छन् । औषधि व्यवस्था विभागमा दर्ता भएका, इजाजत नपाएका २१ जना थिए । दुई वर्षदेखि उपयुक्त तालिमको व्यवस्था गर्ने माग थियो’, उनले भने, ‘यहाँ गैरकानूनी व्यवस्था चलिरहेको छ । तत्कालीन कृषिमन्त्री विमला केसीसहितको निर्णयबाट केन्द्रको सहमतिको आधारमा यहाँ अभिमुखीकरण तालिम दिने निर्णय दुई वर्षअघि नै भएको थियो । तर, दु:खका साथ भन्नुपर्छ । औषधि विभागमा दर्ता भएका चारजनालाई मात्रै तालिम दिइएको छ । जो इजाजत प्राप्त व्यक्ति छैन उसैलाई वा उनीहरू निकटका व्यक्तिहरूलाई तालिम दिइएको छ ।’

औषधि व्यवस्था विभागबाट अनुमति पाएकाबाहेकलाई पहुँचको भरमा तालिम दिइएको नेपाल प्रेसले खुलासा गरेको थियो ।

९,असार.२०७९,बिहीबार १६:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्